नवलपुर– नवलपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो विनयी त्रिवेणी गाउँपालिका १ लक्ष्मीटाँडी निवासी ६३ बर्षीय जिवबहादुर थिङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
विहान घरदेखि पाँच सय मिटर परको जंगल तिनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेला थिङलाई बाघले आक्रकण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेशी साहले जानकारी दिनुभयो ।
थिङलाई बाघले आक्रमण गरेको भनी उहाँसँगै गएका छिमेकी बलराम न्यौपाने मार्फत खबर पाएपछि खोजी गर्ने क्रममा थिङ मृत अवस्थामा भेटिएको साहले जानकारी दिनुभयो । उहाँलाई बाघले घाँटीमा आक्रमण गरेको प्रहरीले जनाएको छ । वन कार्यालयका कर्मचारीसँग मिलेर घटना स्थलको मुचुल्का तयार पारि शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया