काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको बाढीपहिरो २०७२ को भूकम्पपछि अहिलेसम्मकै ठूलो विपत्ति भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो र डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको ठुलो विपद्कोरुपमा बुझ्न र त्यहीअनुसार राहत र पुनस्निर्माणका काममा जुट्न आह्वान समेत गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाढीपहिरो र डुबानका कारण सिर्जित अवस्थाबाट जनजीवन सामान्य बनाउन राहत तथा पुनःनिर्माणका लागि तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने बताए ।
बाढीपहिरोबाट दिवंगतहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै खोज, उद्धार, राहत र पुनःनिर्माणका लागि गम्भीरताका साथ काम भइरहेको प्रधानमन्त्री ओलीको दाबी छ ।
अहिलेको परिस्थितिमा के गर्न पर्छ र के गर्न सकिन्छ? तीनै तहका सरकारबाट समन्वयतात्मकरुपमा काम गर्नुपर्नेछ, प्रधानमन्त्री ओलीले भने, कसरी जनतालाई छिटोभन्दा छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जानुपर्छ । विपत्तिको बेला सबै मिलेर सामना गर्नुपर्छ ।
प्रधानमन्त्री ओलीले उपत्यकालाई जोड्ने सडकहरु रोकिएको स्थितिमा दसैँ अगावै सम्पूर्ण प्रयासहरु गरेर सडक खुलाइएकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद समेत दिए ।
प्रतिक्रिया