काठमाडौं- सत्तारुढ दल नेकपा एमालेले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको ठहर गर्दै त्यसविरुद्ध एकजुट हुन पार्टी पंक्तिलाई आव्हान गरेको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बिहीवार बसेको केन्द्रीय सचिवालय बैठकले देश बन्छ भन्ने आत्मविश्वासका साथ संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आव्हान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
‘समाजमा निराशा, हतास मनस्थिति, नकारात्मकता, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेका छन् । त्यो गलत छन । देश बनिरहेको छ भन्ने सकारात्मक सन्देश, देश बन्छ भन्ने आत्मविश्वास साथै लोकतन्त्र गणतन्त्र संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आव्हान गरेका छौं,’ बैठकको निर्णय सुनाउँदै उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
यस्तै प्रकोप र त्यसबाट उत्पन्न परिस्थितिको सामना सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म गरेको निश्कर्ष बैठकले निकालेको छ । विपत्तिको भोल्यूम र सरकारको सामर्थ्यको बीचमा जहिल्ये पनि ग्याप हुने गरेको तथ्यलाई स्मरण गर्दै उहाँले सरकारले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको बताउनु भयो ।
‘यतिबेलै अमेरिकाको फ्लोरिडा हरिक्यानबाट आक्रान्त छ । अमेरिका साधन स्रोतसम्पन्न देश हो त्यहाँ पनि कमीकमजोरी रहेको सुनिन्छ । हामीले वस्तुनिष्ठ ढंगले हेर्ने हो सरकारले इमान्दारपूर्वक काम ग¥यो गरेन, सरकारका निकाय परिचालित भएरभएनन् भन्ने मुख्य कुरा हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, जनप्रतिनिधि, कर्मचारी, दलका कार्यकर्ता आफ्नो सामर्थ्यले खटेकै देखिनुहुन्छ,’ उहाँको भनाई थियो ।
सचिवालय बैठकले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना, राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसंगठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन पनि आव्हान गरेको छ ।
प्रतिक्रिया