वीरगञ्जमा “दलित सशक्तिकरण ऐन, जातीय विभेद तथा छुवाछूत अनुगमन समितिको गठन र कार्यान्वयनको अवस्था” विषयक अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । आईतवार वीरगञ्जकोे भिष्वा होटेलमा मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा एमालेका सांसद प्रभु हजराले जातीय विभेद अन्त्य गर्न गाँउ गाँउ, टोल टोलबाट सबैलााई लाग्नु पर्ने आवश्यक रहेको दावी गरेका थिए । उनले दलित सशक्तिकरण ऐनमा सकारात्मक प्रावधान भए पनि कार्यान्वयन कमजोर भएकाले यसको प्रभावकारिता देखिन नसकेको बताए । उनले भने “दलित सशक्तिकरण ऐन कार्यान्वयनका लागि तिनै तहको सरकारको सक्रिय सहभागिता आवश्यक छ” तिनै तहको सरकारले चासो नदेखाए कार्यक्रममा मात्र भाषण गरेर ऐन कार्यान्वयन नहुने बताएका थिए । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सांसद हजराले दलित सशक्तिकरण ऐनले प्रदेश भरका सबै पालिकामा जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन गर्नुपर्ने व्यवस्था गरेको छ । तर, १३६ मध्ये केवल ३६ स्थानीय तहमा मात्र समिति गठन भएको लजास्पद रहेको भन्दै यथाशिर्घ बाकी रहेको पालिकाहरुमा कसरी र कुन तरिकाले समिति गठन गर्न सकिन्छ भन्ने बिषय तर्फ आकषर्ण भएर अगाडी बढन जोड दिएका थिए । एमालेको सरकारले दलित लक्षित गर्दै जनता आवास लगायतका धेरै जसो कार्यक्रम ल्याएको सांसद हजराले कार्यक्रममा जिकिर समेत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले मधेश प्रदेशमा दलित समुदायको अवस्था सुधारबिना समग्र प्रदेशको विकास सम्भव नहुने दाबी गरे । उनले जातीय भेदभाव, हिंसा र विभेद अन्त्यका लागि ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिँदै भने, “नयाँ संविधान जारी भएयता मात्रै मधेश प्रदेशमा ७ जना दलितको हत्या भएको छ । जातीय विभेदका घटनामा रोक लगाउन कानुन निर्माण भए पनि यसको कार्यान्वयनमा गम्भीर चुनौती देखिएको छ ।” उनले दलित सशक्तिकरण ऐन कार्यन्वयनमा देखिएका कमजोरी पहिचान गर्दै छुवाछूत अनुगमन समिति गठन र क्रियाशीलता सुनिश्चित गर्न स्थानीय तहदेखि प्रदेश सरकारसम्मको समन्वय आवश्यक रहेको उल्लेख गरे ।
यसैगरी कार्यक्रममा सहभागी भएका अन्य वक्ताहरुले दलित सशक्तिकरण ऐनको प्रभावकारी कार्यान्वयन, छुवाछूत अनुगमन समिति गठन, र दलित समुदायमाथि हुने विभेदको अन्त्यका लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।
प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालको अध्यक्षता तथा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य एवम दलित महिला केन्द्र नेपालकी अध्यक्ष लक्ष्मी परियार, खेलकुद मन्त्रालयका निमित्त सचिव चुडामणी फुयाल, दलित विकास समिति मधेश प्रदेशका उपाध्यक्ष रामप्रवेश बैठा लगायत बारा, पर्सा, रौतहट र सर्लाहीका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया