१२ पुस, काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नै कर्मका कारण भीम रावल पार्टीबाट बाहिरिएको बताएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार नवलपुरको गैंडाकोटमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पार्टीबाट बाहिरिसकेका रावललाई यसबारे पार्टीले जानकारी मात्रै दिएको बताए ।
‘जसले एमाले सिध्याउन लागेका छन् उनीहरूलाई बडा चिन्ता लागेको छ, उनीहरूले बडा दुःख व्यक्त गरेका छन्, अनुशासनहीनता उद्देश्य प्राप्तिका लागि तगारो हुने गर्दछ,’ उनले भने ।
सार्वजनिक टिप्पणी के भयो भन्ने भन्दा पनि पार्टीलाई अनुशासित बनाउनका लागि यो कदम चालिएको उनको भनाइ थियो ।
अधिकारको खोजी गर्ने तर आफ्नो कर्तव्य पूरा नगर्ने प्रवृत्ति बढ्दै गएको पोखरेलले बताए । अधिकार खोज्दा आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्ने उनको तर्क थियो ।
हिजो के भयो भनेर होइन अब के गर्ने भनेर देश निर्माणको दिशामा अघि बढ्नु पर्ने उनले बताए । ‘हामी सफल पनि हुनुपर्दछ, हामी उदाहरणीय पनि हुनुपर्दछ,’ पोखरेलले भने ।
अन्य नेताहरू माथिको कारबाही भनेको पार्टीमा फेरि क्रियाशील हुने आधार हो भन्ने बुझ्नु पर्ने उनले बताए ।
पछिल्लो समय पार्टी र नेतृत्वमाथि चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको उनले बताए । काम गर्नेले नै गल्ती गर्ने बताउँदै पोखरेलले अहिले राम्रो काम गरेका कारण एमालेमाथि आक्रमण र घेराबन्दी गरिएको कुरालाई बुझ्न जरुरी रहेको उनको भनाइ छ ।
कार्यक्रममा महासचिव पोखरेलले मुलुकमा देखिएको राजनीतिक अस्थिरतालाई रोक्न नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको बताए । साना पार्टीका कारण देशमा अस्थिरता नआओस् भनेर कांग्रेस–एमालेको गठबन्धन सरकार बनेको उनले स्पष्ट पारे ।
अस्थिरताका कारण मुलुक बरबाद भएको भन्दै उनले त्यही अस्थिरतामा खेल्ने कुरालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डाइनामिक भन्ने गरेको बताए ।
प्रतिक्रिया