काठमाडौं, माघ ११ । जनताको स्वास्थ्य उपचार गर्ने चिकित्सा शिक्षामा स्नातक तह एमबीबीएस र बीडीएसको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा झन्डै ६८ प्रतिशत परीक्षार्थी फेल भएका छन ।
नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा सहभागीमध्ये ८६ प्रतिशतभन्दा बढी परीक्षार्थी फेल भएका हुन । काउन्सिलले मंगलबार र बुधबार चिकित्सक दर्ता प्रमाणपत्रको लागि परीक्षा लिएको थियो । काउन्सिलका रजिष्ट्रार डा.सतिसकुमार देवका अनुसार, एमबीबीएस र बीडीएसतर्फ कुल ८ सय ४४ जना परीक्षामा सहभागी रहेकोमा २ सय ६२ जना (३१ दशमलव शून्य ४ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन भने कुल ५ सय ८२ जना (६८ दशमलव ९६ प्रतिशत) अनुत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।
एमबीबीएसतर्फ ६७ दशमलव ९९ र बीडीएसतर्फ ७६ दशमलव ९२ प्रतिशत परीक्षार्थी लाइसेन्सिङ परीक्षामा फेल भएका छन । मेडिकलतर्फ ७ सय ७० जनाले लाइसेन्सिङ परीक्षामा फारम भरेका थिए । जसमध्ये १७ जना अनुपस्थित भए भने ७ सय ५३ जनाले परीक्षामा सहभागिता जनाउँदा २ सय ४१ जना (३२ दशमलव शून्य १ प्रतिशत) मात्र उत्तीर्ण भएका हुन । मेडिकलतर्फ ७ जनाको नतिजा रोकिएको र ५ सय १२ जना अनुत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।
यसैगरी डेन्टल (बीडीएस) तर्फ ९१ जना परीक्षामा सहभागी भएकोमा २१ जना मात्र (२३ दशमलव ०८ प्रतिशत) मात्र उत्तीर्ण भएका छन । ७० जना परीक्षार्थी असफल भएका छन । यो परिनामले मेडिकल र डेन्टल कलेजको शैक्षिक गुणस्तरमै गम्भीर प्रश्न उठेको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुसालका अनुसार, विगतमा पटक–पटक परीक्षामा सहभागी भएका पुराना परीक्षार्थीहरू यसपटक पनि लाइसेन्सिङ परीक्षामा असफल भएका छन्। लाइसेन्सिङ परीक्षामा उत्तीर्ण नभएसम्म सहभागी हुन पाइन्छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले नेपालबाहिर पढेर आएका विद्यार्थीहरू बढी फेल हुने गरेको बताउनु भयो । यता चिकित्सा शिक्षाका प्राध्यापकहरू अभिभावकको दबाबमा चिकित्सा पढेका औसत विद्यार्थीहरू लाइसेन्सिङ परीक्षामा असफल हुने गरेको बताउँछन ।
प्रतिक्रिया