पर्साको पटेर्वा सुगौली गाउँपालिका एक नवजात शिशु फेला परेको छ । गाउँपालिकाको वडा नम्बर २ स्थित बंकुल खोलाको बगरमा जीवित अवस्थामा भेटिएको शिशु छोरी रहेको र बेवारिसे रूपमा रहेको जानकारी स्थानीय हिरालाल महतोले प्रहरीलाई दिए ।
प्रहरी चौकी रङपुर टाडीका प्रहरी सहायक निरीक्षक रामबाबु यादवको नेतृत्वमा गएको टोलीले शिशुलाई सुरक्षाको लागि हिरालाल महतोबाट आफ्नो जिम्मामा लिएको छ । प्रहरीका अनुसार, शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र थप स्वास्थ्य सुरक्षाका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको छ ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा थप प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
शिशुको पृष्ठभूमि, फालिएको कारण तथा यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्न प्रहरीको अनुसन्धान जारी छ । घटनाले स्थानीय क्षेत्रमा चासो र चिन्ता उत्पन्न गरेको छ । स्थानीय बासिन्दाहरूले शिशुको भविष्य सुनिश्चित गर्न र घटनामा संलग्नको पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।
प्रहरीले शिशुको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिइरहेको बताएको छ । यस विषयमा थप जानकारी प्राप्त हुनासाथ सार्वजनिक गरिने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया