वीरगञ्ज– प्रेस सेन्टर नेपालले २१औँ स्थापना दिवस आज वीरगन्जमा पनि मनाइएको छ । प्रेस सेन्टर पर्साले वीरगन्जमा प्रभातफेरी निकालेर स्थापना दिवस मनाएको हो । प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा वीरगन्जको घण्टाघरबाट सुरु भएको प्रभातफेरी नगर परिक्रमा गर्दै पुनः घण्टाघरमै आएर टुङ्गिएको थियो ।
प्रभातफेरीपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले पत्रकारको हकहित र पेशागत संरक्षणको लागि प्रेस सेन्टर सक्रिय संस्था भएको बताए । उनले पत्रकारितालाई व्यवसायिकता बनाउनका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए । नागरिकका समस्यालाई उजागर गर्न र सुसुचित गराउने भूमिकालाई पूरा गर्ने कार्यमा एकढिक्का भएर लागेमा पत्रकारिता पनि व्यवसायिकता हुने र पेशागत समस्या सृजना नहुने उनको विश्वास छ ।
कार्यक्रमलाई प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर, सेन्टरका पर्सा जिल्ला निवर्तमान अध्यक्ष एवम् पत्रकार महासंघ मधेश प्रदेश सचिव दिपक गौतम, पत्रकार महासंघ पर्साका सचिव एवम् प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहान लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलले गरेका थिए ।
प्रभातफेरीसँगै प्रेस सेन्टरले आकस्मिक रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र वीरगञ्जमै भएको आकस्मिक रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कँडेलले गरेका थिए । प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवसहित २१ जनाले रक्तदान गरेका छन् ।
प्रतिक्रिया