४ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम रोक्नका लागि नभइ गर्नका लागि अध्यादेश ल्याएको दाबी गरेका छन् ।
सरकारले जारी गरेको अध्यादेश अबको १५_२० दिनमा संसद्मा पेश भएर दुई महिनाभित्र कानुनको रुप पनि लिइसक्ने प्रधानमन्त्रीले बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० को २५औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई महिनासम्म देशका कामहरू रोक्न नहुने जिकिर गरे ।
‘अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौँ । कतिपयले त्यसको विरोध गर्न खोजिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘१५_२० दिनभित्र संसद् आइसक्छ । संसद् आएको पहिलो दिन त्यहाँ पेश गर्छौं । त्यहाँ छलफल गर्छौं । र अगाडि बढाउँछौं ।’
साथै, उनले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्त्वपूर्ण रहेको बताउँदै विकासको काम अघि बढाउने र जनताको सेव ागर्ने व्यवसायमैत्री सकारात्मक कानुनहरूको निर्माण अहिलेको अवश्यकता रहेको बताए ।
‘एउटा देशको दुई महिना भनेको महत्त्वपूर्ण छ । अत्यन्त जरुरी कुराहरू खोल्न जरुरी छ । उद्यमी व्यवसायीहरू तड्पिएका छन् । हाम्रा नीतिहरू, कानुनहरू बन्नुपर्छ, काम गर्नका लागि, काम रोक्नका लागि होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘रोक्न कानुन बनेका छन् भने त्यस्ता कानुनलाई फेर्न पर्दछ । कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पुर्याउने र व्यवसायीलाई पुग्ने सकारात्मक कानुनहरू परिवर्तन गर्नुपर्छ।’
प्रतिक्रिया