बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुनिल गुप्ता १ लाख २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। १० दिन प्रहरी हिरासतमा रहेका वडा अध्यक्ष गुप्ता मंगलबार धरौटिमा छुटेका हुन् ।
अपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराको ३ नं. इजलासका न्यायाधीश यज्ञप्रसाद आचार्य को इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो ।
स्थानीय प्रशुराम गिरिको उजुरीको आधारमा प्रहरीले चैत्र ३ गते वडा अध्यक्ष गुप्तालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले पहिलोपटक ७ दिनको म्याद थप गरेको थियो भने दोस्रो पटक ३ दिनको म्याद थप गरेको थियो।उक्त मुद्दामा संलग्न अर्को व्यक्ति सुनिल गुप्ता पनि ७५ हजार रुपैयाँ धरौटी बुझाई रिहा भएका छन् ।
सोही मुद्दामा वडा अध्यक्ष गुप्तासहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ। हालसम्म ८ जना अझै फरार रहेका छन्, जसको खोजी कार्य प्रहरीले जारी राखेको छ ।प्रहरीले सुरुमा वडा अध्यक्ष गुप्तामाथि डाँका ,अपराधिक उपद्रव तथा ज्यान मार्ने उद्योग चलाएपनि पछि परिवर्तन गरी अपराधिक प्रवेश तथा आपराधिक उपद्रव मुद्धा चलाएको थियो ।
अघिल्लो बर्ष जीतपुरका राजुराज गिरीको घरमा डोजर लिएर छिरेका गुप्तामाथि आपराधिक उपद्रवको मुद्दा लागेको थियो । बारा जिल्ला अदालतबाट दोषी ठहर भएर उच्च अदालतमा विचाराधिन मुद्दा किनारा नलाग्दै वडाध्यक्ष गुप्ता दोश्रो पटक उस्तै प्रकृतीको मुद्यामा पक्राउ परेका थिए ।
चैत्र १ गते होलीका दिन राती जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ मा रहेको प्रशुराम गिरीको घरमा जवर्जस्ती प्रवेश गरि कुटपिट तथा गाली गलौज गरेको आरोप गुप्तामाथी लागेको छ ।
राती ९ः३० बजेको समयमा वडाध्यक्ष गुप्ता सहितको एउटा समुह गिरीको घरमा प्रवेश गरी केही व्यक्तिलाई कुटपिट गरेको सिसिटिभी भिडियो बाहिरीएको थियो । सो क्रममा घरधनी प्रशुराम गिरीले हवाई फायर समेत गरेपछि सो घटनाले उग्ररुप लिएको हो ।
प्रतिक्रिया