संयुक्त अरब इमिरेट्स (युएई) को दुवई सहरमा पहिलो पटक नेपाली फेस्टिबल आयोजना हुने भएको छ।
नेपाली दूतावासको संरक्षण, गैर आवासीय नेपाली संघ (एनआरएन) शाखा युएई, नेपाली समाज तथा क्रियाशील ६ दर्जनभन्दा बढी संघसंस्था मिलेर यो फेस्टिबल आयोजना गर्न लागिएको हो।
फेस्टिबलको मुख्य उद्देश्य नेपाली कला, संस्कृति, खेलकुद, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव मनाउनु हो।
फेस्टिबल अप्रली, २० मा दुवईको क्रिक पार्कमा हुनेछ। उक्त फेस्टिबलमा युएईको सातवटै सहरबाट व्यवसाय गरिरहेका नेपाली व्यवसायी सहभागी हुनेछन्।
यो फेस्टिबलले व्यवसायको प्रचार–प्रसार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। फेस्टिबल बिहान १० बजेदेखि बेलुका १० बजेसम्म हुनेछ।
फेस्टिबलमा नेपाली सहित २० हजारभन्दा बढी सहभागी गराउने आयोजकको योजना छ।
यस फेस्टिबलले नेपाल र युएइबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै नेपाली समुदायबीच आपसी एकता, सहयोग र परम्परागत पहिचानको उत्सवको रूपमा मनाउने अवसर प्रदान गर्नेछ।
फेस्टिबलमा विभिन्न प्रकारका ५० भन्दा बढी व्यापारिक प्रदर्शनी स्टलहरू रहनेछन्।
परम्परागत हस्तकलाद्वारा उत्पादित वस्तुहरू, नेपाली अर्गानिक उत्पादन तथा स्थानीय व्यवसाय प्रर्वद्धन गरिने छ।
त्यस्तै, स्वादिष्ट खानाका परिकारहरू मःम, सेल रोटी, गुन्द्रुक, ढिडो आदी खानाहरूको स्वाद लिने अवसर र नेपाल तथा युएइका व्यवसायी, व्यापारीहरूबीच परिचयात्मक गतिविधिहरू हुनेछन्।
प्रतिक्रिया