प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनीको जन्म पाकिस्तानमा भएको भन्नु भ्रमपूर्ण रहेको दाबी गरेका छन् ।
अर्घाखाँचीमा ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाणिनीको जन्मस्थान अर्घाखाँचीको पाणिनीमा भएकोमा कुनै शंका नरहेको बताए । ‘विश्वका व्याकरणका पिता पाणिनी यही भूमिमा जन्मनुभएको हो, यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुवात भयो,’ प्रधानमन्त्री ओलीले भने ।
उनले थपे, ‘ऋषिहरू ध्यान र तपस्याको लागि उपयुक्त भूमि खोज्थे, शिवका डमरुको ध्वनि सुनेर व्याकरण सृजना गर्ने पाणिनिको साधना यहीँ भएको हो । ’पाणिनीको योगदान असाधारण रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता ९एआई० विकासमा समेत प्रयोग भैरहेको बताए ।
‘पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवातसँगै संगीत र लयको विकास भयो’ उनले भने, ‘पाणिनिले मात्र नभई शिव, शृङ्ग्य ऋषि, पतञ्जली र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र पाणिनीको प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिन्छ । ’नेपाल सरकारले यस क्षेत्रको विकासको लागि ध्यान दिएको भन्द्र उनले धार्मिक र पर्यटकिय स्थलको रूपमा विकास गर्न सकिने बताए ।
कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी लगायतले पाणिनीको विकासमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए । पाणिनी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, पर्यटन विकास परिषद लुम्बिनी र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा शुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ ।
प्रतिक्रिया